Breaking News

प्रकाण्डलाई कालिकोटमा ४९ किलोको माला


कालिकोट १९ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कालिकोटमा ४९ किलोको फूलको मालाले अभिनन्दन गरिएको छ । ४९ दिन हिरासत बसेर फर्किएको सम्झनामा शसस्त्र द्धन्द्धको बेला ज्यान गुमाएका सहिदका परिवारले प्रकाण्डलाई ५९ किलोको माला लगाएर सम्मान गरेका हुन् ।
बुधबार कालिकोटमा आयोजित जनसभामा सहिद परिवारहरुले प्रकाण्डलाई सम्मान गर्दै सहिदको सपना पुरा गर्न प्रकाण्डलाई आग्रह गरेका छन् । १० वर्षे जनयुद्धमा सहिद भएका सहिदहरुका आफन्तहरुले सहिदका नाममा आउने रकममा पनि अनियमितता भएकाले छानविन गर्न प्रकाण्डसंग आग्रह गरेका छन् ।
गृहजिल्ला कालिकोट पुगेका नेता विकले देशमा भ्रष्टाचारले सीमा नाघेकाले अब पार्टीले कारवाहीको निशाना तयार गरेको दाबी गरे । सदरमुकाम मान्ममा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘अब त अति भो, गाउँमा आएको सिंहदरबारको नालीवेली बाहिर ल्याउछौं ।’ पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्माले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने समेत बताए ।
निर्मलाको घटनामा संलग्न अपराधीलाई सरकारले चार महिनासम्म संरक्षण गरेको उनले आरोप लगाए । उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने बताउँदै केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै निर्मलाको घटना पनि त्यसै गरी मिलाउने प्रयास भइरहेको आरोप लगाए ।
Source: karnalipati

No comments